काठमाडौंमा टोले गुण्डागर्दी गर्ने यसरी परे सर्बेन्द्र खनालको फन्दामा -
काठमाडौं, २ वैशाख । महानगरीय अपराध महाशाखाले मल्पी इन्स्टिच्युट बालुवाटारका डिआइ अर्थात् अनुशासन इन्चार्ज सुदीप गुरुङलाई पक्राउ गरेको छ । विद्यार्थीहरुलाई इंलिस प्रिमियर लिग फुटबल र क्रिकेटका खेलहरुमा बाजी गर्न लगाउने, डर, त्रास र धम्की दिएको भन्दै गुरुङलाई पक्राउ गरिएको एसएसपी सर्वेन्द्र खनालले बताए । उनले कलेजका करिब ६० जनाभन्दा बढी विद्यार्थीहरुलाई तर्साएर बाजीका लागि भन्दै अहिलेसम्म ७० लाख भन्दा बढी उठाएको प्रहरीले अनुमान गरेको छ ।
स्थानीय ‘टोले गुन्डा’ गुरुङ दुई वर्षदेखि सो कलेजको डिआइ भएर काम गरिरहेको प्रहरीले जनाएको छ । थापाका अनुसार गुरुङ पटक-पटक जेलसमेत परिसकेका छन् । विद्यार्थीका कमजोरी पत्ता लगाउने, गल्ती गरे सबै साथीहरुका सामु सजाय दिने, कुखुरा बन्न लगाउनेजस्ता यातना दिने गरेको बताइएको छ ।
उनले यातना दिएका अधिकांश विद्यार्थी अहिले डिप्रेसनको शिकारमा परेको प्रहरी दाबी छ । विद्यार्थीसँग उनले कम्तीमा पनि २० हजारदेखि चार लाखसम्म रुपैयाँ उठाएको अारोप प्रहरीले लगाएको छ । विद्यार्थीलाई बाजी खेल्नका लागि उनले महँगोमा ऋणसमेत उपलब्ध गराइदिने गरेको एक विद्यार्थीले बताए । १ लाख ऋण २१ महिनासम्म दिएको २० हजार ब्याज र २१ दिन नाघे १ लाख नै ब्याज उनले लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
‘उनीसँग बाजी खेलेमा हारेमा जसरी पनि रकम उसलाई दिनुपर्दथ्यो,’ एक विद्यार्थीले भने, ‘हामीले जितेको बेला उल्टै तर्साउँथे । अझ उनको जन्मदिन भएको बेला विभिन्न उपहार ल्याउन धम्की दिने र नल्याए साथीहरुको अगाडि मुर्गा बन्न लगाउँथे ।’ विद्यार्थीहरुले ल्यापटप, मोबाइल, स्कुटर र मोटरसाइकल बन्धकीमा राखेर समेत उनले बाजीका लागि ऋण उपलब्ध गराउने गरेको प्रहरीले बताएको छ । विद्यार्थीहरुको कमजोरी पत्ता लगाउने र त्यसलाई माध्यम बनाएर पैसा असुल गर्ने उनको बानी रहेको एसएसपी खनालले बताए ।
एसएसपी खनालले त्यस्ता गतिविधि गर्ने कलेजका डिआइहरुलाई अब नछाडिने बताए । ‘राजधानीका धेरैजसो कलेजहरुमा टोले गुन्डाहरुले नै डिआइ राख्ने गरेको सुनिएको छ,’ एसएसपी खनालले भने, ‘विद्यार्थीलाई अनावश्यक दु:ख दिने डिआइहरुलाई अब ठेगान लगाउँछु ।’ पछिल्लोसमय विद्यार्थीहरु डिआइ गुरुङको डरले कलेज नै जान छाडेपछि उनीहरुका अभिभावक खनाललाई भेट्न पुगेका थिए ।
कलेज प्रशासनलाई गुरुङले गर्ने हर्कतका बारेमा थाहा भए पनि मौन बसेको विद्यार्थीका अभिभावकहरुको भनाइ छ ।आफूहरुले बेला-बेलामा कलेज प्रशासनलाई गुरुङको बारेमा जानकारी गराए पनि कलेज प्रशासन नै गुरुङदेखि डराउने गरेको अभिभावकहरुको दाबी छ। आफ्ना छोराहरुले दिन दिनै विभिन्न बहानामा ठूलो रकम माग गरेपछि अभिभावकहरुले कजेज पुगेर डिआइ गुरुङको गतिविधि नियालेका थिए ।
सेतो पाटीबाट
No comments:
Post a Comment